

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको छ।
सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति जुटेको हो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको हो ।
सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने र अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने तयारी गरेका हुन्।
अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि गठबन्धनको बैठक बस्ने नेताहरुले बताएका छन् ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री बनेकी छन् ।
यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । तर मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
