काठमाडाैं। अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए।
ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनले बताए ।
नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन् ।
नगरपालिकाको तथ्यांक व्यवस्थापन एवं खुला तथ्यांक प्रणालीका क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको उनले जानकारी दिए।
चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ ।
कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए।
नेपालजस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्यांक प्रविधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले बताएको जानकारी दिए।
ओपन सिटी इन्क्युबेटर विश्वभरका सहरबाट उत्कृष्ट डाटा आविष्कार सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण कार्यक्रम भएको उनको भनाइ छ ।
उनका अनुसार यस कार्यक्रममा छनोट हुने सहरका १० अधिकारी एवं सल्लाहकारलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारको लागि पहुँचको उपयोग गर्ने, विभिन्न सहरी चुनौतीको सामना गर्न, अत्याधुनिक काममा सक्षम बनाउनेछ र अधिकारीलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणाली विकास गर्न सशक्त बनाउने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।