• अफगानिस्तानबाट यसवर्ष ६ लाखभन्दा बढी विस्थापित

  • यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ । उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

    उक्त निकायले तीमध्ये गएको महिना दिनमा मात्र कम्तीमा १२ हजार जना व्यक्ति विस्थापित भएर राजधानी काबुल आएका बताएको छ । यसरी काबुल आएकाहरुमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन् ।

    ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरुले शुरु गरेको सत्ता कब्जा र त्यसपछि यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ । उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।

    उक्त संस्थाले यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहेर नागरिकको अवस्थाको बारेमा जानकारी लिन र अत्यावश्यक परेको सहयोग लिनका लागि पनि आग्रह गरेको थियो ।

    अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो रहेको र यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको पनि सो संस्थाले हालै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस