नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । सूर्यनाथ यादवको ३६औँ स्मृति दिवसका अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीजत्तिको झुट बोल्न सक्ने नेता नेपालमा सायद अरू नभएको भनेर टिप्पणी गरेका हुन्।
उनले भने, ‘हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, एमाले जस्तो जस्तो, झुटमुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने, गुटैगुट एमाले भन्या त्यही हो । केपी ओली छन् नि झुट बोल्न, त्यत्तिको सिपालु मानिस सायद नेपालमा अरू छैन।’
अध्यक्ष प्रचण्डले ओली आफूले धोका दिने र अरुलाई सजिलै धोकेबाज भन्न सक्ने मान्छे पनि भएको बताए । ‘धाेकाचाहिँ आफू दिने धोकैधोकाको छ तिनको जीवन, तर बडो सजिलैसँग अरूलाई धोकेवाज भन्छन्’, ‘प्रचण्डले भने, हाे त्यस्तो खालको, पद प्रतिष्ठाका लागि सिद्धान्त, विचार निष्ठा भन्ने कुराचाहिँ पोलेर खान एकछिन पनि गाह्रो नमान्ने मान्छेको जमात रहेछ त्यहाँ।’
प्रचण्डले एमालेमा पदका लागि विचार र सिद्धान्तलाई नै पोलेर खान सक्ने जमात ठूलो भएको बताए । उनले एमाले झुट, जालझेल, बेइमानी, ठगठाग, भ्रष्टाचार र गुटैगुटको झुण्ड भएको बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।