• संखुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप ४ जना पक्राउ

  • गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ४ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य ४ जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

    अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप ४ जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।

    घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

    रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

    घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय