पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।
यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् ।
गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जना सङ्क्रमित पुष्टि भइसकेका छन् ।”
लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरुमा सङ्क्रमण पुष्टी भएको उनले बताए । स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टी भएको उनको भनाइ छ ।
सङ्क्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको केन्द्रले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।