• बेलायत, अमेरिका र अस्ट्रेलिया सम्झौतापछि चीनले भन्यो,– हतियारको दौड तीव्र बनाउँछ

  • एजेन्सी। चीनले अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको कडान शब्दमा निन्दा गरेको छ । चीनले यो सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ ।

    यस्तै चीनले यसबाट पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र बेलायतको निर्णयलाई गैरजिम्मेवार कार्यको संज्ञा दिएका छन् ।

    उनले भने, ‘यसले गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थायित्वलाई हानी गर्नेछ र हतियारको दौडलाई तीव्र बनाउनेछ ।’

    बेलायत, अमेरिका र अस्ट्रेलियाले गरेको परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ।

    ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्नेछ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन् ।

    पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ।
    सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

    यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले इन्डो–प्यासिफिक क्षेत्र अझ जटिल बनेको र नयाँ सहकार्यले अस्ट्रेलियालाई आफ्नो सुरक्षा आवश्यकता पूर्ति गर्न सहयोग पुर्‍याउने बताएका थिए। सम्झौताले गर्दा क्षेत्रीय सैन्य र हतियारको दौड सुरु हुनसक्ते चिन्तालाई बढाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय