एजेन्सी। अफगानिस्तानबाट यस वर्ष सन् २०२१ को अहिलेसम्ममा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् ।
यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् ।
देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण उनीहरु विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको सङ्ख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ ।
देश बाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकहरुको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ ।
विस्थापित भएकामध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ ।
अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सवैलाई आह्वान पनि गरेको छ ।
अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए ।
ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए ।
संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।
अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग विग्रिएको र ठूलो मानवीय संकट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्रसंघले जनाएको छ ।
हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो । सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तरराष्ट्रिय दातासँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन्।
उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताएका थिए।
गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।
अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।