• संसद् अवरोध खुलाउन एमालेसँग छलफल गर्दै सभामुख

  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बैठक अवरुद्ध पारेपछि सभामुख अग्नि प्रसाद सापकोटाले छलपल थालेका छन् । सभामुख सापकोटाले विपक्षी दल नेकपा एमालेका नेतासहित सत्ता पक्षसँग छलफल सुरु गरेका हुन् ।

    संसदमा अवरोध नगर्नेबारे सभामुखले एमाले नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग सभामुख सापकोटाले बैठक सुचारु गर्नेबारे परामर्श गरेका हुन् ।

    यस्तै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छलफलमा सहभागी छन् । संसद बैठकमा महत्वपूर्ण विधेयकहरु पेस गर्ने तयारी भइरहँदा एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुखले परामर्श गरेका हुन् ।

    एमाले सांसदहरुले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गर्दैआएका छन् । सभामुखले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले निरन्तर रुपमा संसद अवरोध गर्दै आएका छन् ।

    आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए । एमालेले बैठक अवरोध कायम राखेपछि सभामुख सापकोटाले अवरोध खुलाउन छलफल थालेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय