• कांग्रेस १३ नेताले गरे देउवाको ध्यानाकर्षण

  • काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    पार्टीका एक दर्जन युवा नेताले संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरे ।

    हाल काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

    ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ ।

    यस्तै शुक्रबार काँग्रेसले अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनको मिति संशोधन गरेको छ । उक्त निर्णयप्रति पनि युवा नेताले ध्यानाकर्षण भएको उल्लेख गरे ।

    युवा नेता डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय