काठमाडौं । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार काठमाडौं आइपुगेका छन्। राम माधवको भ्रमण प्रयोजन खुलेको छैन, तर पराण्डे विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेका बैठकमा सहभागी हुन आएका हुन्।
एमसिसीका उपाध्यक्ष फातेमा जेड सुमार आएकै दिन भाजपा पूर्वमहासचिवसमेत रहेका राम माधव आइपुगेका छन्। माधव आरएसएसमा अमेरिकानिकट मानिन्छन्। भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले आएको तीन साता नबित्दै आरएसएसका प्रभावशाली नेता राम माधव आएका हुन्।
राम माधवको भ्रमणबारे काठमाडौंस्थित हिन्दू स्वयंसेवक संघका पदाधिकारी बिहीबार अबेरसम्म अनभिज्ञ थिए। माधवले आफ्ना सीमित निकटस्थहरूलाई मात्रै काठमाडौं आएको जानकारी दिएका छन्।
राम माधव इन्डिया फाउन्डेसन नाम थिंकट्यांकका निर्देशक हुन्। उनी भारतीय जनता पार्टीका पूर्वमहासचिव पनि हुन्। तर, ६ महिनाअघि उनलाई भाजपाले जिम्मेवारीमुक्त गरेको थियो। त्यसपछि उनी आरएसएसको राष्ट्रिय कार्यकारिणी सदस्य नियुक्त भएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।