• फिलिपिनी राष्ट्रपति अबको निर्वाचनमा उपराष्ट्रपतिमा चुनाव लड्ने

  • एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे आगामी निर्वाचनमा उपराष्ट्रपतिमा उम्मेदवार बन्ने भएका छन्। उनले उपराष्ट्रपतिमा उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका हुन्।

    फिलिपिन्सको संविधानअनुसार राष्ट्रपतिले दोस्रो कार्यकाल काम गर्न पाउँदैन।

    डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको
    विपक्षीको आरोप छ। तर डुटेर्टेले आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन्।

    उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्टले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशंका छ।

    रोड्रिगो डुटेर्टेले उनी निकट सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

    तर बुधवार पार्टीले गरेको प्रस्ताव आफ्नो मन र मस्तिष्क जनताको सेवामा केन्द्रित रहेको भन्दै उनले अस्वीकार गरे।

    गोले आफ्नो निर्णय पुनर्विचार गरून् भन्ने पार्टीले चाहेको भए पनि डुटेर्टेकी छोरीले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ।

    यसै वर्ष भएका सबैजसो मत सर्वेक्षणमा अग्रस्थानमा देखिएकी सारा डुटेर्टे कार्पियोले उम्मेदवारी दिने सम्भावना छ। डुटेर्टे सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्टेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको आरोप लगाउँछन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय