काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारलाई राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्ने जवाफ दिएका छन्।
उनले एमसीसीबारे उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न समेत आग्रह गरेका छन्।
उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेका एमसीसीका उपाध्यक्ष फतिमा सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताए ।
भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरले सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताएका थिए।
एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गरेको नेता तुलाधरले जानकारी दिए।
तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गराएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।