• लुम्बिनी प्रदेश सांसद डाँगीले दिए राजीनामा

  • बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । उनी १९ गते शंकर पोखेललाई दोस्रो पटक मुख्यमन्त्री बनाउने निर्णय गरेको एमाले संसदीय दलको बैठकमा अनुपस्थित भएका थिए । राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप गरेको, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

    उनले राजीनामा पत्रमा लेखेका छन्, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’

    कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको विकास गर्न खोजेको समेत उनले उल्लेख गरेका छन्। उनले कम्युनिस्ट आन्दोलन र बृहत् वाममोर्चाको पक्षमा रहने प्रतिबद्धता समेत जनाएका छन् ।

    आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएर शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेपछि एमाले सांसदहरु असन्तुष्ट बनेका छन् । यसअघि नै अर्का सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला वली माओवादी केन्द्रमा गएकी छन्।

    सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि सुरुमा पोखरेलविरुद्ध उभिएपनि पोखरेल मुख्यमन्त्री बनेपछि पोखरेलको पक्षमा फर्किएका थिए ।

    डाँगीले पनि राजीनामा दिएपछि लुम्बिनीमा शंकर पोखरेलसँग अब ३८ जना सांसदमात्रै बाँकी छन् । ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० सांसद चाहिन्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस