काठमाडौं । राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ। सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागको प्रस्तावअनुसार राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका अन्य काम सुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो ।
जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको हो।
विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।
त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेपछि कोरोना महामारीका कारण रोकिएको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।