• एमाले जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी हो : पोखरेल

  • काठमाडाैं। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन्।

    एमाले जिल्ला कमिटीले बनेपामा अयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको दाबी गरे।

    “एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने।

    एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए।

    उनले भने, “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”

    नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैं दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हाँस्यास्पद परिस्थिति निर्माण गरेको टिप्पणी गरे।

    “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने। उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।

    एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको संघर्ष भइरहेको उल्लेख गर्दै राम्रो/नराम्रो नेतृत्व धु्रवीकरण हुने बताए।

    उनले भने, “हामी पार्टी एकताको निरन्तरतामै छौं, अबको निर्वाचनमा जनताले जनादेश, परामादेश र अध्यादेशको फैसला गर्नेछन् ।”

    एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए।

    “मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु”, पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले भने। उनले आगामी निर्वाचनमा स्थानीय तहका सबै स्थान एमालेले जित्ने गरी सङ्गठन निर्माणमा लाग्न आग्रह गरे।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय