• २१ जिल्लामा कांग्रेस वडा अधिवेशन अझै अनिश्चित

    nepali congress flag
  • काठमाडाैं। नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी रहे।

    आज झापा र मुस्ताङ गरी दुई जिल्लामा वडा अधिवेशन भएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

    शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।

    आज डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको संयोजक यादवले बताए। बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ ।

    डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।

    क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।

    कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।

    करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् ।

    वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

    मुलुकभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिए। यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ ।

    त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय