

काठमाडाैं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै आज ११ जनाको ज्यान गएको छ ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् ।
तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
बाढीपहिरोमा परी ४४ बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३०३ वटा पशु मरेका छन ।
सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १११ मानिस विस्थापित भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
