• बिरामीले भरिभराउ अस्पताल, संक्रमितले पाउन छाडे बेड

  • काठमाडौं । सोमबार ललितपुर पाटनकी संगीता महर्जन हस्याङ–फस्याङ गर्दै जाउलाखेलस्थित अल्का अस्पताल पुगिन् । अत्तालिदै अस्पतालमा पुगेकी उनको अनुहारमा त्रास प्रष्ट देख्न सकिन्थ्यो । अस्पतालको ‘सी’ ब्लक अगाडि रहेको सोधपुछ कक्षामा पुगेर केही सोधिरहेकी उनी एक्कासी रुँदै भन्न थालिन्, ‘अघि पाटन अस्पताल पनि पुगेर आएकी बेड नै खाली छैन भन्छन् । घरमा बुढा बा कोरोना पोजिटिभ हुनुहुन्छ । पहिलेदेखि दमको बिरामी हुनुहुन्छ । अस्पतालले भर्ना गर्न मान्दैन अब हामी कोही नचिनेकाहरुले मर्नुबाहेक विकल्प रहेनछ ।’

    संगीता एक प्रतिनिधि पात्र हुन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर सुरु भएसँगै उपत्यकाका सरकारीदेखि निजी अस्पतालमै पनि सर्वसाधारणले भर्ना पाउन मुस्किल भएको छ। सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु संक्रतिमले भरिएको छ। वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको अवस्थासमेत उस्तै छ ।

    अन्य ठूला भनिएका निजी अस्पतालहरूमा बेड खाली छैन भन्दै नयाँ कोरोना संक्रमित भर्ना गर्न मान्दैनन् । केही अस्पतालले भने अस्पताल परिसरमै राखेर संक्रमितको उपचार गर्न थालेका छन् ।

    यस्तो छ उपत्यकाका ठूला निजी अस्पतालको अवस्था

    थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोरोना संक्रमितका लागि अस्पतालको क्षमताको कुल २९ बेड छुट्याएको छ । कोरोना पोजिटिभ देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाहसहित नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसमेत नर्भिक अस्पताल भर्ना भएका छन्

    थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोरोना संक्रमितका लागि अस्पतालको क्षमताको कुल २९ बेड छुट्याएको छ । कोरोना पोजिटिभ देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाहसहित नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसमेत नर्भिक अस्पताल भर्ना भएका छन् । कोरोना पोजिटिभको लागि छुट्याएका बेड संक्रमितले भरिएपछि अब नयाँ भर्नाको लागि खाली नभएको अस्पताल प्रशासनले जनाएको छ ।

    त्यस्तै, धापासीस्थित ग्राण्डी अस्पतालले १९, ललितपुरको बीएण्डबीले २५ बेड छुट्याएका छन् । ग्राण्डी र बीएण्डबी अस्पतालमा समेत खाली नभएको अस्पताल प्रशासनको भनाइ छ । त्यसरी नै बल्खु बयोधा अस्पतालले कोरोनाका लागि भनेर १३ बेड छुट्याएको छ । मेडिसिटी अस्पतालले २८ बेड, ह्याम्स अस्पतालले एक सय बेड छट्याएको जनाएपनि सबै भरिएका छन् ।

    ठूला अस्पतालबाहेक मझौला र साना अस्पतालसमेत कोरोना संक्रमितले भरिन थालेका छन् । निजी अस्पतालमा बेड खाली भेटिएपनि अत्यधिक चर्को पैसा तिराउने गरेको गुनासो बढ्न थालेको छ ।

    सरकारले गतवर्ष नै निजी अस्पताललाई समेत ‘आइसोलेसन’ निर्माण गर्न र संक्रमितको उपचार गर्न निर्देशन दिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय