चितवन। जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो।
मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्काे एकजना कपिलवस्तुका रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन्। सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन्।
यस्तै ६४ जना बिरामी सघन उपचार कक्षमा छन्। तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचाररत छन्। यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन्। तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र सीएमएसमा १४ जना रहेका छन् ।
जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन्। जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।