• काठमाडौंमै अनिश्चित बन्यो कांग्रेसको वडा अधिवेशन

    nepali congress flag
  • नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत राजधानी काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

    हालसम्म पनि काठमाडौंलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

    निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउँछन् । एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

    क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले जानकारी दिए । पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उनले सुनाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय