कोरोनाका कारण लामो समयदेखि फिल्म क्षेत्र ठप्प छ । लकडाउन सुरु हुनु अगवै फिल्म हलहरु बन्द भए । रिलिजको तयारीमा रहेका फिल्महरु रिलिज हुन पाएनन् ।
बीचमा केही समय हलहरु खुले । तर, हलमा दर्शकको उपस्थिति शुन्य जस्तै रह्यो । रिलिज भएका फिल्मले दर्शक पाएनन् ।
अहिले हल कहिले खुल्छ भन्ने पक्का छैन । हल खुले पनि तत्काल फिल्म रिलिज गर्ने माहोल बन्दैन । फिल्म चल्नको लागि केही समय कुर्नु पर्ने देखिन्छ ।
हल संचालनमा आएपछि कुन फिल्मलाई कुन मितिमा रिलिज गर्ने भन्ने अर्को दुविधा सुरु भएको छ । रिलिजको लागि पूर्ण तयार भएका फिल्मलाई कुन मितिमा रिलिज गर्ने, बाकीँ फिल्मलाई कुन मितिमा रिलिज गर्ने भन्ने अन्योलको विषय छ ।
रिलिजको तयारीमा रहेको ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’, ‘प्रेम गीत ३’, ‘चपली हाइट ३’, ‘लक्का जवान’, ‘हिजो आजका कुरा’ लगायत फिल्म रोकिएका छन् । अब यी फिल्महरुले कसरी आफ्नो रिलिज मिति टुंगो लगाउन् त ? त्यो बहसको विषय बनेको छ ।
प्रतिक्षित यी फिल्मले राम्रो मिति छानेर रिलिज नगरे घाटा हुने पक्का छ । यी फिल्म एक-आपसमा जुध्न पुगे भने पनि उनीहरुलाई घाटा नै हुनेछ । त्यसैले वितरकसँग छलफल गरेर यी फिल्महरुले उत्तम मिति तय गर्नु पर्ने देखिन्छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।