एजेन्सी। उत्तर कोरियाले पारमाणविक रियाक्टर पुनः सञ्चालनमा ल्याएको छ। त्यसले पारमाणविक अस्त्रका लागि प्लुटोनियम उत्पादन गर्ने ठानिएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।
अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी (आईएईए) ले यङब्युन रियाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका संकतहरू फेला परेको जनाएको छ।
त्यसबाट उक्त पारमाणविक रियाक्टर सञ्चालनमा रहेको बुझिन्छ। त्यो केन्द्र सन् २०१८ देखि निष्क्रिय थियो।
भूउपग्रहमार्फत् सो पारमाणविक केन्द्रको पर्यवेक्षण गर्ने गरेको आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषय भएको बताएको छ।
साथै सुरक्षा परिषद्ले पारित गरेका संकल्प प्रस्तावहरूको पनि त्यसबाट उल्लंघन भएको आईएईएले जनाएको छ।
सन् २००९ मा उत्तर कोरियाले आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाइदिएको थियो।
गत जनवरीमा उत्तर कोरियाली नेता किम जङ-उनले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए।
आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाएयता उत्तर कोरियाले पारमाणविक विकासलाई निरन्तरता दिँदै आएको छ। सन् २०१७ मा उसले पछिल्लो पारमाणविक परीक्षण गरेको थियो।
किम जङ-उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ताको केन्द्रमा यङब्युन पारमाणविक केन्द्रलाई राखेका थिए।
आर्थिक नाकाबन्दी खुकुलो पारिए उक्त पारमाणविक केन्द्रलाई भंग पार्ने सहमतिलाई त्यति बेला ट्रम्पले अस्वीकार गरेको बताइन्छ।
सन् २०१९ मा हनोईमा ट्रम्प र किमबीच भएको वार्ता सोही मुद्दाका कारण विफल भएको बताइन्छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।