• सौताने आमाद्वारा पाँच वर्षीय बालकको घाँटी थिचेर हत्या

  • काठमाडौँ । पाँच वर्षीय बालकको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक सौतेनी आमालाई जेल चलान गरेको छ।

    रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी जेल चलान भएकी हुन्। उनले आफ्नी सौताको पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

    घटनालगत्तै पक्राउ परेकी रागनीदेवीलाई महोत्तरी जिल्ला अदालतले बिहीबार पूर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको हो। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा चन्द्रकिशोर यादवलाई भने अदालतले साधारण तारेखमा छाडेको छ।

    घरमा जेठी पत्नी छँदाछँदै यादवले रागनीदेवीलाई १० महिनाअघि कान्छी पत्नीको रुपमा घर भित्र्याएका थिए। पतिले कान्छी भित्र्याएपछि जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएकी थिइन्।

    बाबुको संरक्षणमा रहेका पाँच वर्षीय रितेशलाई गएको साउन १४ गते दिउँसो सौतेनी आमा रागनीले घाँटी थिचेर हत्या गरेकी प्रहरीले जनाएको छ। हत्यापछि बालकको शव घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमारहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

    बालकको हत्यापछि बुवा र सौतेनी आमा दुबै फरार भएका थिए । प्रहरीले घटना घटाएकै दिन बुवालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो। छोराको हत्या घटनामा बाबुको संलग्नता नदेखिएपछि उनलाई साधारण तारेखका छाडिएको अदालत स्रोतले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस