काठमाडौं। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भएमा दल विभाजन गर्न सकिने अध्यादेशसँगै माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) दर्ताले वैधता पाएको छ।
नेकपा एमालेबाट अलग भएर नेताहरुले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।
एमालेलाई १५ वर्षभन्दा लामाे समय नेतृत्व प्रदान गरेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो।
एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।त्यसमध्ये ५६ जनाले बुधबार सनाखत गरेपछि नेपालको दलले वैधता पाएको हो।
२०३ सदस्यीय एमाले केन्द्रीय समितिमा दल विभाजनका लागि ४१ सदस्यको समर्थन आवश्यक थियो।
दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन्।
नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो।
आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ।
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।