![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/fohor-ktm.jpg)
काठमाडाैं। काठमाडौं उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ। बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो।
पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए।
साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन।
गएको ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन। गत साउन ३२ देखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरबासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।
सो सूचना सार्वजनिक भएको पनि एक हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन। यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए।
उनले भने, “निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम सुरु नगरिएसम्म समस्या समाधान हुँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन।”
सिसडोलमा २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो । तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)