• गण्डकीका मन्त्रीकाे सम्पति विवरण: शिक्षामन्त्रीसँग एक किलो १९ तोला सुन, मुख्यमन्त्रीको २५ लाख ऋण

  • पोखरा । मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि गण्डकी प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् । सार्वजनिक सम्पत्ति विवरणानुसार गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग एक किलो १९ तोला सुन छ । १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा देखाएका छन् । मन्त्री श्रेष्ठले यसको स्रोत पैतृक तथा पेवा उल्लेख गरेका छन् । स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा उनको जग्गा रहेको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सम्पत्ति

    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा उनले आम्दानी देखाएका छन् । पोखरेलसँग पाँच तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ ।

    अर्थमन्त्री रामजीप्रसाद बरालको सम्पत्ति

    अर्थमन्त्री रामजीप्रसाद बरालले गत वर्ष मात्रै एक करोड रुपैयाँ ऋण लिएका छन् । एनआईसी एसिया बैंकबाट ऋण लिएका उनले त्यसको कारण उल्लेख गरेका छैनन् । ६० हजार रुपैयाँको गाईदेखि सवारीसाधनको नाममा दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको उनले उल्लेख गरेका छन । निफ्राको ६० कित्ता सेयर, एभरेष्ट बैंकमा तीन लाख नगद मौज्दात उनले आम्दानी देखाएका छन् । पोखरामा मन्त्री बराल र उनको श्रीमतीको नाममा जग्गा रहेको छ । मन्त्रीले चार तोला सुन रहेको विवरणमा खुलाएका छन् ।

    वनमन्त्री दीपक थापाको सम्पत्ति

    वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् । सांसद भएपछि उनले पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा पनि किनेका छन् । त्यसको स्रोतमा तलबभत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स पनि उल्लेख गरिएको छ ।
    मन्त्री थापासँग ३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्ति छ । विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण देखाएका उनले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएका छन् ।

    ऊर्जामन्त्री हरिशरण आचार्यको सम्पत्ति

    ऊर्जामन्त्री हरिशरण आचार्यले बैंकबाट लिएको ५० लाख ऋणमा १० लाख तिरेको उल्लेख गरेका छन् । कृषि विकास र प्रभु बैंकबाट उनले ऋण लिएका थिए । गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको उनले सार्वजनिक गरेका छन् । मन्त्री आचार्यसँग आठ तोला सुन र पाँच तोला चाँदी छ ।
    बैंकबाट लिएको ऋणबाट उनले २० लाखमा आमुल फर्निचर उद्योग पनि सञ्चालन गरेका छन् ।

    भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको सम्पत्ति

    भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको नाममा पोखरा महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ । मन्त्री खड्काले यसलाई स्वआर्जन र पैतृक सम्पत्तिबाट निर्माण गरेको उल्लेख गरेका छन् । ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर तथा ८५ लाख ऋण दिएको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

    कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको सम्पत्ति

    कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, आठ ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हीरा रहेको मन्त्री थापाले विवरणमा उल्लेख गरेका छन् । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, आफूसहितको सगोल परिवारमा सात लाख ५० हजार कित्ता सेयर सम्पत्ति विवरणमा उल्लेख छ । दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा मन्त्री थापाको लगानी रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको सम्पत्ति

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौँडामा चार ठाउँमा जग्गा, तीन तोला सुन तथा आठ लाख ६० हजार नगद मौज्दात रहेको छ ।

    पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति

    बागलुङको काठेखोलास्थित लेखानीमा जन्मिएका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग लेखानीमा नै ६ ठाउँमा जग्गा छ । इन्द्रकली कँडेलको नाममा लेखानीमा चार र नरेठाँटीमा तीन ठाउँमा जग्गा छ । मन्त्री कँडेलको नाममा चितवनमा पाँच ठाउँ, रुपन्देहीमा नौ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै तीन ठाउँमा जग्गा छ । मन्त्री कँडेलसँग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ ।

    २५ तोला सुन तथा एक केजी चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा इन्द्रकली कँडेलको नाममा झन्डै दुई लाख रुपैयाँ नगद रहेको छ । झन्डै ८७ हजार कित्ता सेयर, दुई करोड ६७ लाख ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस