• एमालेलाई जोगाउन तेस्रो धारको प्रयास

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तेश्रो धारका नेताहरुको भेलाले पार्टीलाई विभाजनबाट रोक्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको उल्लेख छ ।

    वक्तव्यमा भनिएको छः ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ ।’

    नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको अवस्थामा विद्यमान मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक र औपचारिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु उपयुक्त हुने ठहर गर्दै जारी संयुक्त वक्तव्यमा भनिएको छः ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’

    भेलामा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको थियो । जारी संयुक्त वक्तव्यमा एमालेका तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय