• म मुख्यमन्त्री हुनुमा ओली र नेपालको साथ छ : अष्टलक्ष्मी

  • बागमती प्रदेशकी मुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छिन् ।

    शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने समेत बताइन्।

    नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने बताइन्।

    शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन्।

    भनिन्, ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ। सहमति छ। अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो। गलत सन्देश दिने काम नगरी दिनुहोस्। जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ।’

    आफूहरु अझै एकताको पक्षमा रहेको भन्दै उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् । त्यसका लागि १० बूँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन उनले आह्वान गरिन् ।

    ‘हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भनेको खण्डमा स्थिति उथलपुथल हुन्छ,’ शाक्यले भनिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय