केही साताअघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका हुन् ।
अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उनले एक लाख ५७ हजार नगद पनि सहयोग गरेका छन् । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताए ।
साथै वडासदस्य रुपकाजी लामाले १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गरे । ३६ वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उनको परिवार पीडामा छ । मृतक बस्नेत गाडी चलाउँथे । उनले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी लकडाउनमा अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गरेका थिए । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो ।
वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले ५० हजार ५०० नगद पनि समीक्षाको परिवारलाई बुझाइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।