काठमाडौं । अफगानिस्तानमाथि दोस्रोपटक नियन्त्रण हासिल गरेपछि तालिबानको पहिलो पत्रकार सम्मेलन मंगलबार काबुलमा आयोजना गरियो ।
क्यामेरासामु पहिलोपटक देखिएका तालिबानका प्रवक्ता जबीहुल्लाह मुज्जाहिदले भने, ‘२० वर्षको संघर्षपछि हामीले देशलाई स्वतन्त्र बनायौँ र विदेशीलाई देशबाट बाहिर निकालिदियौँ ।’ उनले यो पूरै देशको लागि गौरवको क्षण भएको बताए ।
उनले आफूहरूले अन्तर्राष्ट्रिय समुदायसित कुनै उल्झन नचाहेको बताए । उनले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायसित कुनै उल्झन चाहँदैनौँ । हामीलाई हाम्रो धार्मिक मान्यताअनुसार काम गर्ने अधिकार छ । अरू देशका अलग–अलग दृष्टिकोण, नियम र कानुन छ । हाम्रो मूल्य–मान्यताअनुसार आफ्नो नियम र कानुन तय गर्ने अधिकार छ ।’
मुज्जाहिदले भने, ‘हामी शरिया व्यवस्थाबमोजिम महिलाको हक तय गर्न प्रतिबद्ध छौँ । महिलाहरू हामीसित काँधमा काँध मिलाएर काम गर्न जानेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोस दिलाउन चाहन्छौँ कि उनीहरूमाथि कुनै भेदभाव गरिने छैन ।’
उनले अफगानिस्तान अब युद्धको मैदान नरहेको पनि बताए । ‘हामीले उनीहरू सबैलाई माफ गरिदियौँ, जसले हामीविरुद्ध लडाइँ लडे । अब हाम्रो दुस्मनी समाप्त भयो ।’
जबीहुल्लाह मुज्जाहिदले भने, ‘हामी अब बाहिर या देशभित्र कुनै दुस्मन चाहँदैनौँ । अब हामी काबुलमा अराजकता देख्न चाहँदैनौँ ।’
उनले काबुलका नागरिकको सुरक्षाको लागि आफूहरु काबुलमा उपस्थित भएको जिकिर गरे । पछिल्लो सरकारलाई ‘असक्षम’ भन्दै उनले सरकारी सुरक्षा बलले सुरक्षा व्यवस्था कायम राख्न खासै केही गर्न नसकेकोले आफूहरूले कदम चाल्नुपरेको तर्क गरे ।
महिला अधिकारसम्बन्धी एक प्रश्नको जवाफमा उनले भने, ‘हामी महिलाहरूलाई आफ्नो व्यवस्थाभित्र काम गर्ने र पढ्ने अनुमति दिन लागिरहेका छौँ । महिलाहरू हाम्रो समाज र हाम्रो ढाँचाभित्र अब धेरै सक्रिय हुनेछन् ।’
विदेशी सुरक्षा बलसित काम गरेका व्यक्ति र अनुवादकको विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘हामी कोहीसित बदला लिन लागिरहेका छैनौँ ।’
तालिबानका प्रवक्ता जबीहुल्लाह मुज्जाहिदले भने, ‘हामीले अफगानिस्तानमा स्थिरता या शान्ति पाउनका लागि सबैलाई माफ गरिदिएका छौँ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।