• अफगानिस्तानको काबुलबाहेक सबै प्रमुख सहरमा तालिबानको कब्जा

  • एजेन्सी। अफगानिस्तानमा तालिबान लडाकुहरू सम्पूर्ण देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन्। राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा तालिबानले कब्जा जमाइसकेको छ।

    लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष आइतबार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन्। योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

    अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले जलालाबादमा नियन्त्रण कायम गरेका हुन्।

    सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ।

    काबुललाई जोगाउन उनीसँग आत्मसमर्मपण वा संघर्षमध्ये एक विकल्प देखिएको छ।

    यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।

    अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।

    एउटा लिखित वक्तव्यमा उनले भनेका छन्ः यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैनथ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैनथ्यो।

    आफ्ना पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले सेना फिर्तीका लागि तोकेको म्याद र फौजको सङ्ख्या घटाएर नगन्य बनाउने निर्णय आफूमाथि आइपरेको बाइडनले उल्लेख गरेका छन्।

    तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतबार बिहान नियन्त्रणमा लिएका छन्।

    “जलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन किनकि यहाँका गर्भनरले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन्”, त्यहाँस्थित एक अफगान अधिकारीले भने, “तालिबानलाई अगाडि बढ्न दिन मार्ग प्रशस्त गर्नु नै नागरिकको ज्यान बचाउने एक मात्र बाटो थियो।”

    जलालाबादमाथि कब्जासँगै तालिबानले छिमेकी मुलुक पाकिस्तानसँग जोडिएका सडक सञ्जालमा पहुँच सुनिश्चित गरेका छन्। यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय