• बबई नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्क अपनाउन विभागको आग्रह

  • काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा मनसुन थप सक्रिय भएको छ । आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कत हुन विभागले आग्रह गरेको छ ।

    यसैबीच, बबई नदीको तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बबईको तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय