काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताए।
प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए।
समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्दै उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनसमेत अनुरोध गरे।
युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्दै उनले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए।
प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।