बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनै लाग्दा उनले पदबाट राजीनामा दिएका हुन्।
पोखरेल प्रदेशसभामा अल्पमतमा छ। यद्यपि उनले संविधानकाे धारा १६८ (१) अनुसार एकल बहुमतकाे सरकार भएको भन्दै विश्वासको मत समेत लिएका थिएनन्।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीकामा प्रस्ताव गरेका छन्।
पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री बनेका थिए। गत बैशाख १९ गते पनि उनीविरूद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुनेदिन बिहानै पदबाट राजीनामा दिएर एकल बहुमतकाे दाबीसहित दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।
दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै विपक्षी दलहरुले बहुमतसिद्ध गर्न वा राजीनामा दिन माग गर्दै आएका थिए। पोखरेल मुख्यमन्त्री नियुक्त हुँदाहुँदै एमालेका सांसदहरू दृगनारायण पाण्डे र अम्बरबहादुर डाँगीले राजीनामा दिएका थिए भने विमला वली माओवादी केन्द्रमा गएकी थिइन्।
गत असार ३१ गते प्रदेशसभामा बजेट पास गर्न आवश्यक बहुमत नपुगेपछि मुख्यमन्त्रीकै नेतृत्वमा सत्ता पक्षले प्रदेशसभा बैठक बहिस्कार गरी अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको थियो।
प्रदेशसभामा हाल ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् भने एमालेका ३८ जना सांसदमात्रै रहेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।