लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलविरुद्धको अविश्वासको प्रस्ताव रद्दको माग गर्दै परेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश राउतको एकल इजलासमा पेसी राखिएको हो ।
रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमतप्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।
१९ साउनमा प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि २७ साउनका लागि आह्वान गरिएको प्रदेशसभाको विशेष अधिवेशनमा छलफल हुँदै छ ।
विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखले अल्पमतका बाबजुद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको भन्दै आफूहरूसँग प्रदेशसभामा प्रस्ट बहुमत रहेको दाबी गर्दै आएका छन् ।
हाल प्रदेशसभामा कायम ८० सदस्यमध्ये सत्तारूढ दल नेकपा एमालेका ३८ सांसद र बाँकी सबै सांसद विपक्षी गठबन्धनमा छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।