• तुइनबाट महाकालीमा बेपत्ता भएका धामीको ड्रोनका सहायताले शव खोज्ने तयारी

  • दार्चुला। सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन्।

    नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्। साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा उनी महाकालीमा बेपत्ता भएका थिए।

    सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छ।

    साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ। समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए।

    सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए।

    ड्रोन क्यामरा लिएर टोली दार्चुला पुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, “नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ।” समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।

    गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ।

    साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन
    समय दिएको छ।

    व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय