• सप्तरीमा बाटो काट्दै गर्दा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

  • सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ ।

    बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

    खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो ।

    घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले बताए । ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस