• उपकुलपति सिंहको मृत्यु भएको विज्ञप्ति निकाल्नेविरुद्ध मुद्दा चलाइने

  • काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको मृत्यु भएको गलत विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा चलाइने भएको छ।

    उपकुलपति सिंहविरुद्ध सुर्खेतको एक समूहले विश्वविद्यालयको लेटर प्याड र छाप दुरुपयोग गरी प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरेर ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर विज्ञप्ति निकालेको थियो।

    उक्त विज्ञप्ति अहिले लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त फेक विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ। हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ। उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ।’

    यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन हुनुका साथै आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताएका छन्।

    ‘यस घटनामा को–को संलग्न छन् भन्नेबारे अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौंलाई जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘विश्वविद्यालय र मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ। म गलत छैन र आतिएको पनि छैन।’

    सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताए। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

    त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन्। आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन।

    वार्ता गर्ने भन्दै एक साता अघि उपकुलपति प्राडा सिंहको निवास र गाडीमा समेत तोडफोड गरिएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय