पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके ।
‘मुद्दा हाल्दिन्छु’, ‘कि दुर्गेश रेलमा’, ‘रातो रातो खुर्सानी’ जस्ता हाउडे शैलीमा गीतबाट दुर्गेश परिचित बनेका थिए । २०७६ सालको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीत निकालेपछि उनको चर्चा चुलियो । यस गीतले चर्चाको शिखरमा पुर्याएपछि उनले फेरि पछाडि फर्किनु परेको छैन । उनले जे गर्छन्, त्यहीँ हिट हुने अवस्था छ ।
उनी हिट त छन्, त्यो सँगसँगै उनलाई विवादले पनि पिछा छाडेको छैन । एकपछि अर्को गल्ती गर्दै उनले आफूलाई स्क्यान्डल किङ्गको रुपमा उभ्याएका छन् ।
दुर्गेश अहिले निकै विवादित बनिरेहका छन् । उनले तीजलाई लक्षित गरेर निकालेको गीत ‘बीच्च बीच्चमा ४- ख्यास पुतली’का कारण उनी अहिले विवादमा तानिएका छन् । गीतमा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै लोक तथा दोहोरी प्रतिष्ठानले त उनलाई बहिस्कार नै गरेको छ ।
प्रतिष्ठानले बहिस्कार गरे पनि दुर्गेश आफ्नो आडानबाट पछि हट्ने वाला छैनन् । कारण, उनलाई यस्ता विवादको बानी परिसक्यो ।
२०७६ को तिहारमा दुर्गेशले ल्याएको गीतले निकै ठूलो विवाद सिर्जना गरेको थियो । उनले गाएको ‘डन आयो डन..’ बोलको गीतमा प्रयोग गरेका शब्दहरुमाथि चौतर्फी आलोचना भयो ।
विवाद झांगिँदै जाँदा प्रहरीले उनलाई पक्राउ नै गर्यो । हिरासतबाटै आफ्नो गीत यूट्यूबबाट हटाएर उनी छुटे । छुटेपछि विवादित शब्दहरु झिकेर फेरि अपलोड गरे ।
गत वर्षको तीजलाई लक्षित गर्दै दुर्गेशले दुईवटा गीत सार्वजनिक गरे । ‘बीच्चबीच्चमा २’ र ‘बीच्चबीच्चमा ३’ । यी दुबै गीत पनि विवादमा तानिए ।
‘बीच्चबीच्चमा २’ को अन्तरामा उनले एउटा पुरानो गीतका दुई लाइन हुवहु चोरेको पुष्टि भयो । गीतको अन्तरामा रहेको ‘आकाशैमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ..’ भन्ने लाइन प्रेमराजा महत र हरिदेवी कोइरालाले धेरै पहिले गाएको गीतको मुखडा हो । दुर्गेश स्वयंले पनि यो स्वीकारे ।
बीच्चबीच्चमा–३ चाहिँ शब्दले होइन, म्युजिक भिडियोका कारण विवादमा परेको हो । म्युजिक भिडियोमा दुर्गेश सहितका पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा प्रस्तुत भएका छन् । भिडियोले महिलाहरुको अपमान भएको भनेर आलोचना भयो । धेरैले यसलाई ‘गाइजात्रे गीत’को संज्ञा दिए ।
दुर्गेश गीतको कारण मात्र होइन, एक अन्तर्वार्ताका कारण पनि विवादित बने । अन्तर्वार्तामा उनलाई स्वरसम्राट नारायण गोपलको गीत गाउन लगाइन्छ । उनले गीत सुरु गर्छन्, ’मन जलिरहेछ… ’ ।
नारायण गोपालको फ्यान बताउने दुर्गेशले नारायण गोपालको भन्दै भक्तराज आचार्यको गीत गाए । त्यो पनि स्वर बिगारेर । त्योबेला दुर्गेश ट्रोलको शिकार बन्न पुगेका थिए ।
विवाद नै शक्ति !
दुर्गेशलाई लोक तथा दोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने खबर बाहिरिएसँगै दुर्गेशले नयाँ गीत भन्दै पोस्टर सामाजिक संजालमा पोष्ट गरे । गीतको बोल छ, ‘बहिस्कार’ ।
दुर्गेशले आफूलाई बहिस्कार गरेको कुरालाई शक्तिमा बदल्दै गीत बनाउने तयारी गरेको देखिन्छ । उनले आफ्नो विवाद तथा आलोचनालाई गीतमार्फत् जवाफ फर्काउन लागेका छन् ।
यो उनको पहिलो प्रयास होइन । यसअघि पनि उनले आफ्नो विवादलाई शक्तिमा बदल्दै गीत बनाएका थिए ।
अन्तर्वार्तामा उनले स्वरसम्राट नारायण गोपलको गीत भन्दै भक्तराज आचार्यको गीत गाउँछन् । यम बरालको भन्दै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो…’ गीत गाएका थिए । त्यो पनि बेसुरा ।
त्यो बेला दुर्गेशलाई धेरैले ‘आलुजस्तो गायक’ भने । ट्रोलहरुमा पनि थुप्रै आलोचना भयो । अन्तत: दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत नै निकाले । जुन गीतले पनि युट्युबमा राम्रै भ्युज बटुल्यो ।
सरसरती हेर्दा, विवाद तथा आलोचनाले दुर्गेशलाई झनै प्रोत्साहित गर्छ । यसको कारण युट्युब भ्युज र कमाइसँग पनि जोडेर विश्लेषण गर्न सकिन्छ ।
कुनै गीत विवादमा आयो भने त्यसलाई धेरैभन्दा धेरेले हेर्न खोज्छन् । यूट्यूवमा स्वतः भ्यूज बढ्छ । भ्यूज बढ्नु भनेको युट्युबबाट हुने आम्दानी बढ्नु हो । यही बुझाइले गर्दा दुर्गेशले जानाजान विवादलाई विषय बनाएर गीत निकाल्ने गरेको आरोप उनलाई लाग्ने गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।