![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/Tank.jpg)
एजेन्सी। जर्मनीमा सेवानिवृत्त एक वृद्धलाई अवैध हातहतियार राखेको अभियोगमा दोषी ठहर गरिएको छ। उनको स्वामित्वमा एउटा ट्याङ्कसहित हतियारको ठूलो भण्डार फेला परेपछि जेलसहित जरिवाना गरिएको हो।
८४ वर्षीय व्यक्तिलाई १४ महिनाको जेल सजाय र अढाई लाख युरो अर्थात् झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ। तर उनले तत्काल जेल जानुपर्ने छैन।
गोपनीयतासम्बन्धी जर्मन कानुनअनुसार उनको नाम सार्वजनिक गरिएको छैन।
उक्त ट्याङ्क र दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका अन्य सैन्य उपकरण उत्तरी सहर हाइकेन्डोर्फमा सन् २०१५ मा बरामद भएका थिए। ती सामग्री हटाउन सेनाको सहयोग लिइएको थियो।
जर्मनीको एउटा अदालतले उनलाई उक्त ट्याङ्क र एउटा विमानभेदक तोप दुई वर्षभित्र बेच्न वा कुनै सङ्ग्रहालय वा सङ्कलकलाई दिन आदेश दिएको छ।
ती व्यक्तिका वकिलका अनुसार एउटा अमेरिकी सङ्ग्रहालयले उक्त “प्यान्थर ट्याङ्क” किन्न रुचि देखाएको छ। धेरै अमेरिकी इतिहासकारले जर्मनीले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका त्यस्ता साधनमध्ये उक्त ट्याङ्क सबैभन्दा प्रभावकारी भएको बताएका छन्।
स्थानीय अधिकारीहरूले बर्लिनस्थित सहकर्मीबाट प्राप्त सूचनाका आधारमा सन् २०१५ मा ती वृद्धको घरमा छापा मारेका थिए।
चोरिएका नाजी कलाकृति खोज्न पहिला पनि उनको घरमा खानतलासी गरिएको थियो। त्यहाँबाट ट्र्याकबिनाको प्यान्थर ट्याङ्क निकाल्न २० सैनिकलाई झन्डै नौ घण्टा लागेको थियो।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ती व्यक्तिले एकचोटि हिउँ हटाउन उक्त ट्याङ्क प्रयोग गरेको देखिएको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)