प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज ३ बजे बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकका लागि हिजो शनिबार नै तय गरिएका एजेण्डामा केन्द्रित भएर छलफल हुने छ । कार्यालय सचिव तामाङकाअनुसार केन्द्रीय विभागहरूलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण मुख्य एजेण्डा छन् ।
त्यससँगै विघटित कार्यदलका सदस्यहरूले आन्तरिक विवाद समाधानका लागि माधव नेपाललाई मनाउने प्रयास जारी राख्ने भएकाले ३ बजेअघिसम्म सो प्रयास हुने उनले बताए ।
शनिबारको बैठक सुवास नेम्वाङले एकतामा भएको प्रगतिबारे ब्रिफिङ गरेपछि एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो । तामाङले एकताका लागि कुर्ने मत आएपछि हिजो बैठक स्थगित गरेर विवाद समाधानका लागि प्रयास गर्ने सहमति भएको थियो ।
नेकपाको आन्तरिक विवाद समाधानका लागि दोस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन् भने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल एकअर्काप्रति कडा टिप्पणी गर्ने गरेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।