सिन्धुपाल्चोक । बाढी र पहिरोले तहसनहस पारेको सिन्धुपाल्चोकमा फेरि बाढीले ताण्डव मच्चाएको छ । मेलम्चीमा गएराति बाढी आउँदा केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उनले बताए ।
त्यसैगरी गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । उनका अनुसार रातो पुल माथिबाट पानी बगेर आएको थियो ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतका स्थानमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि त्यहाँका स्थानीयहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीय बासिन्दाले बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।