काठमाडाैं। नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन्।
बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम गरिदिनँ माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन्।
गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै केपी ओली समूहलाइ साथ दिएर मन्त्री बनेका उनी २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै नेकपा माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा रहने निर्णय गरेपछि उनी एमालेमा बसेका थिए।
माओवादी केन्द्रले पार्टीमा फर्किन दिएको समयलाइ समेत बेवास्ता गर्दै एमालेमै बसेका रायामाझीलाई पार्टी परित्याग गरेको भन्दै कारबाही गरेको थियो ।
सांसद पद र पार्टीको सदस्यबाट निष्कासित गर्दै सो जानकारी संसद् सचिवालयलाई दिएपछि उनी सांसद पदबाट मुक्त भएका थिए।
सांसद पदबाट हटाएको करिब ४ महिनापछि सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन्।
उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको उल्लेख छ। उनले आफू हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको दाबी गरेका छन्।
उनले माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गाैरिशंकर चाैधरीलगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए।
उनीहरूले माओवादी केन्द्र, अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्ति दिनुका साथै केही समयअघि पार्टी नै खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर आयोगले उनीहरूको निवेदन खारेज गरेको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।