काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेजीको एजेण्डामा जनमत बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका छन्।
सोमबार विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता र खारेजी र धर्मविरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि थापाले त्यसलाई ‘सकारात्मक’ भनेका छन्।
विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ।
‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन्। राप्रपाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ।
यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ। गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ।
विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका हुन्। मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।