काठमाडौं । एमाले नेता योगेश भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ गठन गरिएकोप्रति आपत्ति जनाएका छन् । फेसबुकमार्फत नेता भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ जस्ता संगठनहरू बनाएर अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएको बताएका हुन् ।
उनले समाजमा आतंकको आभाश दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत ‘बाहुबली’ समूहहरू तत्काल खारेज गरिनुपर्ने बताएका छन् ।
“ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरूलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ रु समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्दछ,” उनले लेखेका छन् ।
बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गरेको एमालेका लागि यस्ता प्रवृत्ति नसुहाउने उनको भनाइ छ । उनले यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आग्रहसमेत गरेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।