• माधवकुमार नेपालले डाके स्थायी कमिटी बैठक

  • काठमाडौँ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्। मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेपालले बुधबारका लागि स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन्।

    आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। जसम्ध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए। नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए।

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरूले पार्टीमै रहेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

    मंगलबार बानेश्वरमा भएको छलफलमा संसद जोगाउने एउटा कोर्ष सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष निकालेको सांसद विरोध खतिवडाले बताए। उनले आफूहरू तत्काल सरकारमा नजाने समेत स्पष्ट पारे।

    ‘हामी सरकारमा तत्काल जाँदैनौं। केपी ओलीलाई सुधार्न प्रयास गर्छौं। लोकतन्त्र विरोधी र संविधान विरोधी कदमलाई रोक्न हामी लडेको हो। त्यो कोर्ष सकिएको छ,’ उनले भने, ‘अब संसदको स्थायित्व स्थापित भएको छ। हामीले ओली प्रवृत्तिको अन्त्य गर्न सक्ने अवस्था आएन भने मात्रै नयाँ योजना बनाउने हो।’

    आफूहरू सरकारमा जानै हुँदैन भन्ने पक्षमा नभएको भन्दै उनले अहिले भने आफूहरू सरकारको प्राथमिकतामा नरहेको बताए।

    बैठकमा वरिष्ठ नेता माधव नेपालले देउवालाई बहुमत पुग्न नदिनका लागि विभिन्न खालका प्रयासहरू भएको बताएका थिए।

    बैठकमा उपस्थित नहुनेदेखि भोट नदिनेसम्मका दबाबहरू आएको समेत उनले सुनाएका थिए।

    अर्का सांसद भवानी खापुङले आफूहरू गलत कुराको विरूद्ध भिडेरै जाने पक्षमा रहेको बताए।

    ‘आज त हाम्रो समान्य छलफल मात्रै भएको हो। जस्तो परिस्थिति आए पनि सामना गरेर जाने भन्ने धारणा साथीहरूको छ। पार्टी विभाजनतिर लैजाने कसैको पनि सोच छैन,’ उनले भने, ‘हामी पार्टीभित्रै संघर्ष गर्ने हो। केपी ओली सुध्रिने स्थिति देखिँदैन तर पनि त्यहीँभित्र संघर्ष गर्ने हो। पार्टी एकतालाई जोगाउन अन्तिमसम्म प्रयास गर्ने भन्ने कुरा भएको छ।’

    ओली पक्ष कुन ढंगले अगाडि बढ्छन् भन्ने आधारमा आफूहरूले योजना बनाउने उनले बताए।

    बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको थियो। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए।

    उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय