काठमाडौं। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको भन्दै कटाक्ष गरेका छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै ज्ञवालीले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीश (श्रीमान् ५) बाट प्रधानमन्त्री बनेको टिप्पणी गरेका हुन्।
२०५९ असोजमा देउवालाइ तत्कालीन राजा ज्ञानेन्द्र शाहले असक्षम भन्दै बर्खास्त गरेका थिए । तर राजाले उनलाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त गरेपछि न्याय पाएको अभिव्यक्ति दिएका थिए।
सोही प्रसंग स्मरण गर्दै ज्ञवालीले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ। आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ। उतिबेला श्री ५, अहिले श्रीमान ५ ।’
उनले संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्थालाई छिराइएको र यसले शक्तिपृथकीकरणको सिद्धान्त खल्बलिने चिन्ता आफ्नो दलको भएको उनको दाबी थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।