काठमाडाैं। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गरेका छन्।
स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरुसमेतको सहभागितामा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुनःस्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताए।
नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारलाई प्रतिनिधिसभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति संकटग्रस्त हुने विज्ञप्तिमा
उल्लेख छ।
नेता खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितको २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन गरेका छन्। नेता खनालले वैचारिक र राजनीतिक एकतासहित गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमति बमोजिम विधिपूर्वक एमालेलाई एकताबद्ध बनाउन पनि उनले आह्वान गरेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।