एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वर पुगेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन्।
महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला नेता नेपालसँगको भेटका लागि शुरुमा कोटेश्वर पुगेका थिए । पछि उनीहरूको भेटमा प्रचण्ड पनि मिसिएका थिए ।
चार नेताबीच समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ । विप्लव नेपाल निवासबाट बाहिरिएपछि अहिले नेता नेपाल र प्रचण्डबीच छलफल भइरहेको बुझिएको छ ।
विप्लवले यसअघि हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । वामपन्थी शक्तिहरू एक ठाउँमा रहनुपर्नेबारे प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको थियो ।
अर्धभूमिगत बनेका विप्लव ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका थिए ।
अहिले सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यन्वयन नहुँदा कैयौं नेकपा कार्यकर्ता जेलमा रहेकोमा विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।